विपत्तिपछि हुनसक्ने जालसाजीबाट सतर्क रहनुहोस् [https://www.fema.gov/ne/press-release/20220108/be-alert-fraud-after-disaster] डेनभर - समुदायका सदस्यहरू जो मार्शल आगलागीबाट प्रभावित हुनुभएको छ, उहाँहरू विपत्तिपछि ठगहरू र अपराधीहरूबाट जालसाजी वा परिचयको चोरीमार्फत पैसा हात पार्ने वा व्यक्तिगत जानकारी पाउने प्रयास गर्न सक्छन् भन्नेमा सचेत हुनुपर्छ । कतिपय अवस्थामा, त्यस्ता चोरहरूले उक्त विपत्तिमा बाँचेकाहरूबाट चोरेको उहाँहरूको नाम, ठेगाना र सोसल सेक्युरिटी नम्बरहरू प्रयोग गरेर फीमा (FEMA) सहायताका लागि निवेदन दिने प्रयास गर्छन् । यदि फीमाका कुनै आवास निरीक्षकले तपाईंलाई सम्पर्क गर्नुहुन्छ वा तपाईंको जेथामै आइपुग्नुहुन्छ, तर तपाईंले फीमामा निवेदन नै पेश गर्नुभएको छैन भने तपाईंले थाहै नपाइ तपाईंको जानकारी फीमा निवेदन तयार पार्न प्रयोग गरिएको हुनसक्छ । यदि यो अवस्था आयो भने कृपया निरीक्षकलाई तपाईंले फीमा सहायताका लागि निवेदन गरेको छैन भन्ने जानकारी दिनुहोस्, त्यसो गर्नुभयो भने उहाँहरूले निवेदनको थप प्रक्रिया रोक्नका लागि अनुरोध पेश गर्न सक्नुहुन्छ । यदि तपाईंले सहायताका लागि निवेदन दिनुभएको छैन, तर फीमाबाट पत्र पाउनुभयो भने कृपया फीमाको हेल्पलाइन (सहायता फोन) ८००.६२१.३३६२ (800.621.3362) मा फोन गर्नुहोस् । उक्त हेल्पलाइनले त्यो निवेदनमा हुने थप प्रक्रिया रोक्नका लागि अनुरोध पेश गर्नेछ । यदि तपाईं तपाईंलाई थाहै नदिइ तपाईंको नाममा तयार पारिएको निवेदन रोकेपछि फीमा सहायताका लागि निवेदन दिन चाहनुहुन्छ भने फीमा हेल्पलाइनले तपाईंलाई नयाँ निवेदन तयार पार्न मद्दत गर्नेछ । ठगी फीमा विपत्तिबाट बचेकाका लागि सहायता (FEMA Disaster Survivor Assistance) समूहहरू, आवास निरीक्षकहरू, र अन्य अधिकारीहरू मार्शल आगलागीबाट प्रभावित क्षेत्रमा काम गरिरहनुभएको छ । उहाँहरूले तस्बिरसहितको परिचय-पत्रका साथ आधिकारिक पहिचान भएको बिल्ला लगाउनु भएको हुन्छ । फीमा तथा अमेरिकी साना व्यवसाय प्रशासन (U.S. Small Business Administration) का प्रतिनिधिहरूले विपत्ति सहायता दिलाउन, निरीक्षण गर्न, वा निवेदनहरू पूरा गर्न मद्दतका लागि निवेदकहरूबाट कहिल्यै शुल्क लिँदैनन् । तपाईंले पैसा दिएको बदलामा विपत्ति अनुदान दिन्छु भनेर वाचा गर्नेका कुरा नपत्याउनुहोस् । फीमा आवास निरीक्षक हुँ भनेर दाबी गर्ने व्यक्तिहरू वा आफू फीमाका लागि काम गर्छु भनेर दाबी गर्ने व्यक्तिहरूबाट अप्रत्याशित रूपमा आउने फोनहरू वा तपाईंको जायजेथामै आउने त्यस्ता व्यक्तिहरूसँग सतर्क रहनुहोस् । फीमा प्रतिनिधिहरूसँग उहाँहरूका परिचय-पत्र भएका बिल्ला र तपाईंको फीमा निवेदन नम्बर हुन्छन्, र तपाईंले उहाँहरूलाई त्यो देखाउनुहोस् भनेर भन्नुपर्छ । फीमा आवास निरीक्षक हुँ भनेर दाबी गर्ने व्यक्तिहरूलाई आफ्नो बैंकसम्बन्धी जानकारी नदिनुहोस् । फीमा निरीक्षकहरूलाई तपाईंको व्यक्तिगत वित्तीय जानकारी सङ्कलन गर्न कहिल्यै अधिकार दिइएको हुँदैन । यदि तपाईंलाई आफू ठगीको शिकार भएँ भन्ने लाग्छ भने यसलाई तुरून्तै स्थानीय कानुन कार्यान्वयन निकायमा उजुरी गर्नुहोस् वा बिमा उपभोक्ता सेवा समूह (Insurance Consumer Services Team) को कोलोराडो शाखालाई फोन ३०३.८०४.७४९० (303.804.7490) वा ८००.९३०.३७४५ (800.930.3745) मा सम्पर्क गर्नुहोस्, ठगी उजुरी दर्ता गर्न DORA.Insurance@state.co.us जानुहोस् । यदि तपाईंलाई फीमाको नाम जोडेर जालसाजी कृत्य भएको शंका लाग्छ भने तपाईं यसलाई StopFEMAFraud@fema.dhs.gov मा इमेल गरेर, फ्याक्सद्वारा २०२.२१२.४९२६ (202.212.4926), वा निम्न ठेगानामा लेखेर: FEMA Fraud and Internal Investigation Division, 400 C Street SW Mail Stop 3005, Washington, DC 20472-3005 फीमा ठगी शाखामा उजुरी गर्न सक्नुहुन्छ । यदि परिचयसम्बन्धी जानकारी चोरिएको शंका लागेको छ भने कृपया Identity Theft | FTC Consumer Information [https://www.consumer.ftc.gov/features/feature-0014-identity-theft] वा IdentityTheft.gov [https://www.identitytheft.gov/#/] हेर्नुहोस् ।